घरेलुु टोली नेपालले त्रिकोणात्मक टिट्वान्टी शृङ्खलामा लगातार चौथो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले स्तब्ध भएको हो ।
थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रनमा समेटिन पुग्यो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । ३० बलको सामना गरेकी उनले ३ चौका र एक छक्का प्रहार गरिन् तर, नेपाललाई जिताउन सकिनन् । यसैगरी कविता जोशीले २४ रन बनाउँदा रोमा थापा १९ रनमा अविजित रहिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय छ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए । साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन् ।
नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् पूजा महतो र रचना चौधरीले समान एक/एक विकेट लिए ।
प्रतियोगितामा नेपाल यसअघि खेलेका तीन वटै खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डकाे भने याे लगातार चाैथाे जित हाे ।