तुलसी घिमिरेको निर्देशन रहेको फिल्म ‘पहाड’ को शुभमुहुर्त

217

तुलसी घिमिरेको निर्देशन रहेको फिल्म ‘पहाड’ को शुभमुहुर्त गर्दै छायांकन सुरू गरिएको छ। आज बिहान गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मूहुर्त सट दिए। 

घिमिरे ३० वर्षपछि नेपाली फिल्म छायांकनका लागि नेपाल आएका हुन्। फिल्मका सुटिङ गोरखा र आसपासमा २५ दिन चल्नेछ। त्यस्तै फिल्मको छायांकन १५ दिन भने भारतका विभिन्न क्षेत्रमा हुनेछ।  

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको फिल्मको लेखन निर्देशक घिमिरेकै हो। 

अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पुर्‍याउन खोजिएको घिमिरे बताउँछन्। 

‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ,’ उनले भने, ‘ फिल्मको विषयअनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’ 

ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन्। भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा पनि सहकार्य गरिसकेका थिए। 

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापालगायतका कलाकारको अभिनय छ। यसमा रञ्जित गजमेर संगित निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक हुन्। 

रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सहनिर्माता रहेको फिल्म नेपालमा बैङ्कटेस इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ। पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ निर्देशन गरेका हुन्।

समन्धित समाचार