स्मार्टवाचमा क्यान्सर निम्त्याउने हानिकारक रसायनहरू भेटिएका छन् ।
अमेरिकाको नोट्र्रे डेम विश्वविद्यालयले बजारमा सबैभन्दा धेरै किनबेच हुने २२ स्मार्टवाच ब्रान्डमाथि एउटा अध्ययन गरेको थियो, जसमध्ये १५ स्मार्टवाचहरूमा क्यान्सर निम्त्याउने हानिकारक रसायनहरू भेटिएका अनुसन्धानमा, यी रसायनहरूलाई ‘फरेभर केमिकल्स’ नाम दिइएको छ ।
यी रसायनहरू धेरै वर्षसम्म पर्यावरणमा रहने र विघटन गर्न धेरै गाह्रो हुने भएकोले यो नाम दिइएको हो । रसायनको उपस्थितिको कारण नोट्रे डेम विश्वविद्यालयले आफ्नो अध्ययनमा १५ ब्रान्डका स्मार्टवाचहरूलाई क्यान्सरजनक घोषित गरेको छ । यी स्मार्टवाचका रबर ब्यान्ड बनाउन फ्लोरोइलास्टोमर रबर प्रयोग गरिन्छ ।
यो एक खालको सिंथेटिक रबर हो । यो तेल, पसिनाजस्ता तरल पदार्थका प्रतिरोधक हो । यस रबर ब्यान्डमा प्रयोग हुने फ्लोरोइलास्टोमर यौगिकले क्यान्सर निम्त्याउन सक्ने वैज्ञानिकहरूले फेला पारेका छन् ।