आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने महिला टी २० आई सिरिजका खेलहरू हेर्न प्रवेश नि:शुल्क गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित सिरिजका सबै खेलहरू टिकटबिना नि:शुल्क हेर्न सकिने जनाएको छ ।
जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजमा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् ।
पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् भने फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुने क्यानले जनाएको छ ।
सिरिजका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।