चितवन, १४ माघ
जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। चितवनको सहारा सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता देखिएको भन्दै सरकारी वकिल कार्यालयले उनीसहित अन्य प्रतिवादीहरूमाथि मुद्दा दायर गर्ने अन्तिम तयारी गरिरहेको छ।
सहकारी ठगी प्रकरणमा लामिछानेको नाम यसअघि पनि चर्चामा आएको थियो। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा उनले एक करोड धरौटी बुझाएर केही दिनअघि मात्र रिहा भएका थिए। त्यसअघि कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका थिए। हालसम्म लामिछानेले विभिन्न ठगी प्रकरणमा २ करोड २५ लाख धरौटी स्वरूप रकम बुझाइसकेका छन्। उनले धरौटी रकमको ग्यारेन्टी प्रभु बैंकमार्फत बैंक ग्यारेन्टी पेश गरेर सुनिश्चित गरेका छन्।
चितवनमा दायर हुन लागेको मुद्दामा लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकहरू, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, कुमार रम्तेललगायतलाई प्रतिवादी बनाइएको छ। लामिछाने गोर्खा मिडियाका सञ्चालक रहँदा सहकारी ठगीसँग सम्बन्धित गतिविधिहरू भएको आरोप लागेको हो। सहकारी ठगी प्रकरणमा लामिछानेको मात्र नभई अन्य संलग्न व्यक्तिहरूको पनि महत्वपूर्ण भूमिका रहेको दाबी सरकारी वकिल कार्यालयले गरेको छ।
सार्वजनिक विवरण अनुसार, सहारा सहकारी प्रकरणमा लामिछानेको संलग्नता प्रमाणित गर्न अदालतमा पर्याप्त प्रमाण प्रस्तुत गरिने बताइएको छ। सरकारी वकिल कार्यालयका अनुसार, ठगीबाट प्रभावित पीडितहरूको संख्या धेरै रहेको र ठगीको प्रकृति गम्भीर भएकोले कारबाहीका लागि यो मुद्दालाई उच्च प्राथमिकतामा राखिएको छ।
यता लामिछानेले भने आफू निर्दोष रहेको दाबी गर्दै सहकारी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जनाएका छन्। उनले राजनीतिक प्रतिशोध स्वरूप आफ्नो नाम जोडिएको आरोप लगाएका छन्।
चितवन जिल्ला अदालतमा मुद्दा दायर भएपछि यस प्रकरणले नयाँ मोड लिने र देशव्यापी चासोको विषय बन्ने अनुमान गरिएको छ। सहकारी प्रकरणसँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको र न्यायिक प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रतीक्षा गरिएको छ।