रास्वपा सांसद विनिता कठायतको चेतावनी: ‘नेपाली कांग्रेसका सांसदहरूको विवाहको लिस्ट पनि सार्वजनिक गर्न सक्छौं’

rsp samsadd

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू रक्सी सेवन गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको व्यक्तिगत विषयमा टिप्पणी गरेको आरोप लगाउँदै रास्वपाकी सांसद विनिता कठायतले बुधबार कडा प्रतिक्रिया जनाएकी छिन्। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कठायतको आक्रोशपूर्ण अभिव्यक्तिहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

गुठी जग्गाका पीडित किसानहरूको समस्या समाधानका लागि पोखरा भ्रमण
समितिले गत पुस १९ गते दाङ र प्यूठान जिल्लाको गुठी जग्गामा बसोबास गर्ने किसानहरूको समस्या समाधानका लागि गुठीयार र किसानहरूसँग छलफल र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा समिति सभापति कुसुमदेवी थापा र विभिन्न राजनीतिक दलका सांसदहरूको टोली सहभागी भएको थियो। विश्व वन्यजन्तु कोषको सहयोगमा आयोजित कार्यक्रमका लागि सांसदहरूलाई पोखराको ल्याण्डमार्क होटलमा बस्ने व्यवस्था गरिएको थियो।

कांग्रेस र एमाले सांसदमाथि गम्भीर आरोप
सांसद कठायतले कार्यक्रमकै दौरान कांग्रेस सांसद बीरबहादुर बलायर र एमाले सांसद सरस्वी सुब्बाले रक्सी सेवन गरेर रास्वपा नेताहरूको व्यक्तिगत जीवन र गतिविधिमाथि टिप्पणी गरेको आरोप लगाएकी छिन्। उनका अनुसार बलायरले रास्वपालाई “ठगहरूको पार्टी” भनेर व्यंग्यात्मक टिप्पणी गरे। त्यस्तै, सुब्बाले पार्टीका नेताहरू सुमना श्रेष्ठ र सोबिता गौतमलाई अपमानजनक शब्द प्रयोग गर्दै देश निकाला गर्नुपर्ने कुरा गरेको बताइन्।

कठायतले संसदको बैठकमा आफ्नो आक्रोश पोख्दै भनिन्, “रक्सी खाएर तपाईंहरूले जे पायो त्यही बोल्न मिल्छ? सुमना श्रेष्ठले कतिजनासँग विवाह गर्छन्, त्यो तपाईंहरूको सरोकारको कुरा हो? उहाँलाई देश निकाला गर्ने भनेर तपाईंहरूले भन्न मिल्छ?”

सभापतिको प्रतिक्रिया र कठायतको आक्रोश
बैठकमा समिति सभापति कुसुमदेवी थापाले कठायतलाई प्रतिवाद गर्दै प्रश्न गरिन्, “तपाईंका कुरा छैनन्?” यसपछि कठायतले थप आक्रोशित हुँदै भनिन्, “सभापतिज्यू, मैले भन्नैपर्ने भएको हो। तपाईंहरूले कुन हालतमा के कुरा गर्नुभएको थियो? यो कुरा समितिमा उठ्नुपर्छ। तपाईंले एनजिओको पैसामा अनुगमन गरेर रक्सी खाएर गालीगलौज गर्न मिल्छ?”

कठायतले स्पष्ट रूपमा उल्लेख गरिन् कि उनले प्रतिनिधित्व गरेको पार्टीलाई अपमान गर्ने र व्यक्तिगत विषयमा टिप्पणी गर्ने व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताइन्। “समितिको काम समस्या समाधानतर्फ केन्द्रित हुनुपर्छ, तर यहाँ कसले कससँग विवाह गर्‍यो भन्ने चर्चा भइरहेको छ। यस्तो अनैतिक व्यवहार सहन सकिँदैन,” उनले जोड दिइन्।

पोखरामा के भयो?
समितिमा कठायतसहित कांग्रेस सांसद बलायर, एमाले सांसद सुब्बा, माओवादी केन्द्रकी रुपा सोसी चौधरी, राप्रपाकी अनिशा नेपाली, र समिति सभापति थापा सहभागी थिए। उनीहरूले विश्व वन्यजन्तु कोषको सहयोगमा गरिएको कार्यक्रममा सहभागी किसानहरूको समस्याबारे छलफल गर्नुपर्ने ठाउँमा व्यक्तिगत टिप्पणी गरेको कठायतको आरोप छ।

कठायतले कार्यक्रमको जिम्मेवारी निर्वाह गर्दै कार्यक्रममा भएका गतिविधिहरू संसदमा सार्वजनिक गरेपछि यो विषय सामाजिक सञ्जालमा भाइरल भएको छ।

कठायतको चेतावनी
उनले बैठकमा भनेकी थिइन्, “यदि आवश्यकता पर्‍यो भने, नेपाली कांग्रेसका सांसदहरूको पनि सूची निकाल्न सक्छु। कसले कति विवाह गरेका छन् भनेर सूची सार्वजनिक गरिदिन सक्छु। यो सह्य हुँदैन।”

उनले रास्वपाका नेताहरूको चरित्र हनन गर्ने प्रयास गरिएपछि यस्तो बोल्न बाध्य भएको बताइन्। “तपाईंहरूले मेरो पार्टीलाई पेल्न खोज्नुभयो, म चुप लागेर बस्दिनँ,” उनले थप भनिन्।

सार्वजनिक प्रतिक्रिया
कठायतको यो अभिव्यक्तिप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले उनलाई समर्थन गर्दै महिला सांसदहरूलाई गाली गर्ने प्रवृत्तिको विरोध गरेका छन् भने केहीले उनको आक्रामक शैलीलाई विवादास्पद भनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले भने यस घटनालाई गम्भीर रूपमा लिँदै आगामी बैठकमा थप प्रमाण र तथ्य प्रस्तुत गर्ने बताएका छन्।

समन्धित समाचार