प्रधानमन्त्री ओली बिरामी, सिद्धबाबा सुरुङमार्गको ब्रेकथ्रु कार्यक्रममा अनुपस्थित

kp sharma oli

काठमाडौं – तीन दिनदेखि बिरामी परेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज सिद्धबाबा सुरुङमार्गको ब्रेकथ्रु कार्यक्रममा उपस्थित नहुने भएका छन्। चिसोका कारण स्वर भासिएर आराम गरिरहेका ओली चिकित्सकको सल्लाहअनुसार बालुवाटारमै आराम गरेर बस्नेछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल उक्त कार्यक्रममा सहभागी हुनेछन्।

राष्ट्रिय गौरवको आयोजना: सिद्धबाबा सुरुङमार्ग

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने (ब्रेकथ्रु) कार्य आज हुँदैछ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ किलोमिटर १२६ मिटर लम्बाइको सुरुङमार्ग छिचोल्ने काम पूरा भएको छ।

प्रधानमन्त्री ओलीको उपस्थिति अपेक्षित रहेको कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायतका मन्त्रीहरूको उपस्थिति रहनेछ।

सुरुङमार्गको निर्माण प्रक्रिया र महत्व

२०७७ सालमा मन्त्रिपरिषद्ले बजेट विनियोजन गरेपछि २०७८ साल जेठ ९ गते सडक विभागले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणको ठेक्का लगाएको थियो। निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा काम सुरु गरेको हो। विस २०८३ सम्ममा सुरुङमार्गको निर्माण कार्य सम्पन्न गर्ने योजना छ।

सुरुङमार्गभित्र सम्भावित आपतकालीन अवस्थाका लागि तीनवटा बाइपास निर्माण गरिएको छ। पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ मिटर, र तेस्रो १३० मिटर लम्बाइको छ। पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फ र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फ पर्दछ। यी बाइपासहरू क्रमशः भदौ, असोज, र पुस महिनामा ब्रेकथ्रु गरिएका थिए।

सुरुङमार्ग निर्माणले क्षेत्रीय विकासमा सहयोग

सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायतका लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यस क्षेत्रको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो। बर्तुङ–चिडियाखोला सडकखण्डमा रहेको २७०० मिटर सडकक्षेत्रलाई जोखिमयुक्त ठहर गर्दै सुरुङमार्ग निर्माणको सिफारिस गरिएको थियो। विशाल चट्टानयुक्त क्षेत्रमा रक सेटअर्थात् स्लोप प्रोटेक्सन सम्भव नभएकाले सुरुङ निर्माणको निर्णय गरिएको हो।

सुरुङमार्ग निर्माणमा प्रगति

२०७६ मङ्सिर २ गते सुरुङमार्गका लागि रु १० अर्ब १५ करोड स्रोत सुनिश्चित भएपछि २०७९ सालको अन्तिमतिर सुरुङ खन्न सुरु गरिएको थियो। आयोजनाका प्रमुख कृष्णराज अधिकारीका अनुसार हाल सुरुङभित्र छिचोलिएको भागमा सेकेन्डरी सपोर्टको काम भइरहेको छ। दैनिक ४० जना चिनियाँ र ११० जना नेपाली गरी १५० जना कामदार निर्माण कार्यमा संलग्न छन्।

यो सुरुङमार्गले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको जोखिम घटाई यात्रालाई सुरक्षित र छिटो बनाउन सहयोग पुर्‍याउनेछ।

समन्धित समाचार