रविको मुद्दामा सरकारी वकिलले न्यायाधीशलाई भने- तपाईंले हेर्न मिल्दैन, रिक्युर्जन लिनुस्

rabi lamichhan

१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस जारी छ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा दायर भएको मुद्दामा बयान दिनका लागि लामिछाने हिजो (बुधबार) अदालत उपस्थित भएका थिए।

बुधबार दिनभर न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रवि लामिछानेको बयान लिइएको थियो। आज (बिहीबार) बाट थुनछेक बहस सुरु भएको छ। थुनछेक बहस सुरु हुनुअघि सरकारी वकिलहरूले न्यायाधीश योगीमाथि प्रश्न उठाएका छन्।

सरकारी वकिलहरूले न्यायाधीशमाथि ‘रिक्युर्जन’ लिनुपर्ने माग गरेका छन्। उनीहरूले न्यायाधीशले यस मुद्दा नहेर्ने घोषणा गर्नुपर्ने तर्क गरेका छन्। कानुनी भाषामा ‘रिक्युर्जन’ भन्नाले कुनै न्यायाधीशले आफूलाई कुनै मुद्दा हेर्न अयोग्य घोषणा गर्नु भन्ने अर्थ लाग्छ।

सरकारी वकिलको तर्क

सरकारी वकिलहरूले इजलासमा प्रस्तुत गरेको तर्कअनुसार, थुनछेक बहसका क्रममा उपस्थित गराइएका प्रतिवादीलाई न्यायाधीश योगीले परिवारको जिम्मा लगाएर छाडेको घटनाले न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न खडा गरेको छ।

‘तपाईं (न्यायाधीश)ले हिजै परिवारको जिम्मा लगाएर छाडेपछि, थुनछेकको क्रममा बयान दिन आएको मान्छेलाई त्यसरी छाड्न मिल्दैन,’ सरकारी वकिलले इजलासमा भने। ‘न्यायाधीशको एक किसिमको मानसिकता देखिइसकेको छ। यसले उहाँले के आदेश गर्न सक्छन् भन्ने प्रतिबिम्बित गर्छ। त्यसकारण श्रीमान्‌ले यो मुद्दा नहेर्दा राम्रो हुन्छ।’

पीडित पक्षका वकिलहरूको समर्थन

सहकारी पीडितका तर्फबाट बहस गर्न आएका वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले पनि सरकारी वकिलहरूको भनाइलाई समर्थन गरेका छन्। उनीहरूले न्यायाधीशले यस मुद्दाबाट ‘रिक्युर्जन’ लिनुपर्नेमा जोड दिएका थिए।

प्रतिवादी पक्षको प्रतिवाद

यता, प्रतिवादी तर्फका वकिलहरूले भने न्यायाधीशले ‘रिक्युर्जन’ लिनुपर्ने कुनै कारण नभएको जिकिर गरे। उनीहरूको तर्कमा, न्यायाधीशको अघिल्लो आदेशले थुनछेक बहसमा कुनै असर नगर्ने दाबी गरियो।

न्यायाधीश योगीको अडान

सरकारी वकिल र पीडित पक्षका वकिलहरूको आग्रहको बाबजुद, न्यायाधीश प्रल्हादकुमार योगीले आफू मुद्दाबाट पछि नहट्ने स्पष्ट अडान लिए। उनले ‘रिक्युर्जन’ आवश्यक नभएको बताउँदै, थुनछेक बहस सुरु गर्न निर्देशन दिएका थिए।

बहसको प्रगति

आज बिहानदेखि सुरु भएको थुनछेक बहसमा खाजा ब्रेकसम्म सरकारी वकिलका ७ जना मध्ये ४ जनाले आफ्नो तर्क सकिसकेका छन्। बाँकी ३ जना वकिलले अझै बहस गर्न बाँकी छ।

सरकारी वकिलहरूको बहस सकिएपछि पीडित र प्रतिवादीका तर्फबाट वकिलहरूले पनि आफ्नो तर्क पेश गर्नेछन्।

मुद्दाको पृष्ठभूमि

रवि लामिछाने बुटवलको सुप्रिम सहकारी प्रकरणमा ठगी मुद्दामा संलग्न रहेको आरोपमा बयानका लागि अदालतमा उपस्थित भएका थिए। यो प्रकरणले देशभरको ध्यान खिचेको छ। न्यायाधीशमाथि सरकारी वकिलले उठाएको प्रश्नले यो मुद्दामा थप पेचिलो मोड ल्याउने सम्भावना छ।

समन्धित समाचार