काठमाडौं महानगरले चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्न किन अनुमति दिएन?

balen shah

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा भएको निर्णय

काठमाडौं, १० माघ – काठमाडौं महानगरपालिकाले नेपालस्थित चिनियाँ दूतावासले ठमेलमा आयोजना गर्न लागेको चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) को कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ।

चिनियाँ नयाँ वर्ष र तामाङ नयाँ वर्षको अवसर पारेर २०२५ को स्प्रिङ फेस्टिबल कार्यक्रम आयोजना गर्नका लागि नेपालस्थित चिनियाँ दूतावासले ठमेलमा कार्यक्रम गर्न अनुमति मागेको थियो। चिनियाँ दूतावासका डपुटी चिफ अफ मिसन वाङ सिनले काठमाडौं महानगरलाई एक साता अघि पत्र लेख्दै जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलको सडकमा यो विशेष कार्यक्रम आयोजना गर्न अनुमति मागेका थिए।

पत्रमा, चिनियाँ दूतावासले काठमाडौं महानगरपालिकालाई सह-आयोजक बन्न प्रस्ताव राखेको थियो। यसका साथै, नेपाल ओभरसिज चाइनिज एशोसिएसनले रत्नपार्कमा निःशुल्क स्थान उपलब्ध गराइदिन तथा बिजुली, यातायात, र पार्किङका लागि सहजीकरण गरिदिन पनि महानगरसँग निवेदन गरेको थियो।

तर, महानगरपालिकाले विभिन्न कारण देखाउँदै यो प्रस्ताव अस्वीकार गरेको छ।


महानगरको जवाफ: स्थान परिवर्तनको सुझाव

महानगरपालिकाले पत्रको जवाफमा ट्राफिक व्यवस्थापन र अस्तव्यस्तताको समस्या प्रमुख कारण भएको उल्लेख गरेको छ। ठमेलको सट्टा, महानगरले चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न सुझाएको छ।

महानगरको पत्रमा, “विभिन्न निकायसँग सहकार्य गरेर काठमाडौंको पर्यटन प्रवर्द्धन गर्ने हिसाबले २०२५ स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्ष ल्यान्टिन शो आयोजना गर्न लागेकामा” धन्यवाद दिइएको छ। तर, स्थान परिवर्तन गरेर कार्यक्रम अन्यत्र गर्न आग्रह गरिएको छ।


चिनियाँ कम्पनीको ढिलासुस्तीको विरोध

यसपटक ठमेलमा कार्यक्रम गर्न अनुमति नदिनुको पछाडि प्रमुख कारण भने बाहिरी चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले गरेको ढिलासुस्ती रहेको बताइएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयका अनुसार, “कलंकीदेखि महाराजगञ्जसम्मको क्षेत्र अस्तव्यस्त छ। यसले सिंगो राजधानीलाई धुलाम्य बनाएको छ। यस्तो अवस्थामा उहाँहरुलाई पनि त्यहाँको स्थिति थाहा होस् भन्ने हिसाबले स्थान परिवर्तनको सुझाव दिइएको हो।”

स्रोतले बताएको छ, “चिनियाँ कम्पनीले निर्माण कार्यमा गरेको ढिलासुस्तीका कारण समस्या उत्पन्न भएकोले सांकेतिक विरोधस्वरूप यस्तो निर्णय लिइएको हो।”


अघिल्ला वर्षमा महानगरको सहकार्य

अघिल्ला वर्षमा चिनियाँ दूतावासको आयोजना हुने यस्ता कार्यक्रममा काठमाडौं महानगरपालिका सह-आयोजकको रूपमा सहभागी हुने गरेको थियो। तर, यसपटक अनुमति नदिई अन्यत्र स्थानान्तरण गर्न सुझाव दिइनुले यो निर्णयले नयाँ सन्देश प्रवाह गरेको छ।


चिनियाँ दूतावासको प्रस्ताव: ठमेलको लाइट अप कार्यक्रम

चिनियाँ दूतावासको प्रस्तावमा जनवरी २६ देखि डिसेम्बर ३१ सम्म ठमेल लाइट अप–२०२५ कार्यक्रम अन्तर्गत ३०० भन्दा बढी रातो लालटिन राखेर ठमेलका सडकहरू सिँगारिने उल्लेख गरिएको थियो।

यसका लागि आवश्यक खर्च नेपालस्थित चिनियाँ दूतावास र नेपाल ओभरसिज चाइनिज एशोसिएनले व्यहोर्ने योजना बनाइएको थियो।

तर, यो वर्ष काठमाडौं महानगरपालिकाले ठमेलमा कार्यक्रम आयोजना गर्न अनुमति दिन अस्वीकार गर्नुको कारण चिनियाँ कम्पनीको ढिलासुस्ती र यसको सांकेतिक विरोध रहेको स्पष्ट भएको छ।

समन्धित समाचार