आज चारवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

आज सार्वजनिक लेखा समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकारी समितिर सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।  

जस अनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय तथा समितिमा प्राप्त उजुरी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यता बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्ने तयारी छ ।

यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा महान्यायाधीवक्ताको कार्यालयको कामकारबाहीको सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आमन्त्रण गरिएको छ ।