यू–१९ विश्वकप : बङ्गलादेशसँग हार्‍यो नेपाल

15 7

आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार व्यहारेको छ ।

मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध ५ विकेटले स्तब्ध भएको हो । नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

बङ्गलादेशका लागि सदिया इस्लामले सर्वाधिक १६ रन जोडिन् । यसैगरी कप्तान सुमैया अक्तरले १२ रन बनाउँदा असिमा इरा ९ रनमा नटआउट रहिन् ।

बलिङतर्फ नेपालकी कप्तान पूजा महतो, रिया शर्मा, सिमाना केसी र रचना चौधरीले समान एकएक विकेट लिए । यू-१९ मा नेपालले विश्वकपमा पहिलो पटक सहभागिता जनाएको हो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन् भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए ।

समन्धित समाचार