राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी, भूमिसम्बन्धी अध्यादेश रोकियो

 राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, नेपाल कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश-२०८१, निजीकरण पहिलो संशोधन अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ जारी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले पाँच वटा अध्यादेश प्रमाणीकरणको लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको भएपनि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ भने जारी भएको छैन ।

अघिल्लो मन्त्रिपरिषद्को बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो । संसद् अधिवेशन आह्वान नगरी अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रतिपक्षी दलहरुले भने सरकारको विरोध गरिरहेका छन् ।

11 8