स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको छ : मेयर बालेन शाह

30

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका छन् ।अहिलेको अवस्थामा प्रदेश सरकारबाट यस्तो आभास हुन नसकेको उनले बताए ।

आइतबार बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालसँगको भेटमा शाहले भने, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो ?  सुकुम्वासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनः स्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ ?  स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’

यता प्रमुख सचिव डा.लम्सालले, प्रदेश र स्थानीय सरकारका बिचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरे । उनले भने, ‘प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु । राजनीतिक संवादका लागि वातावरण मिलाउँछु ।’

समन्धित समाचार