चीनमा भूकम्पको त्रासदी: ९५ जनाको मृत्यु, १३० घाइते

Earthquake China2 1024x596 1

चीनमा भूकम्पको त्रासदी: ९५ जनाको मृत्यु, १३० घाइते भएका छन ।

२३ पुस, काठमाडौं। चीनमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको छ भने १३० जना घाइते भएका छन्। तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्ट ले यो विवरण सार्वजनिक गरेको छ।

भूकम्पको केन्द्रविन्दु चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा रहेको थियो। यो भूकम्प नेपाली समय अनुसार बिहान ६ बजेर ५० मिनेटमा गएको हो। चीनको भूकम्प नेटवर्क केन्द्रले यसको तीव्रता ६.८ म्याग्निच्युड मापन गरेको छ भने नेपालका भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको छ। यो भूकम्प १० किलोमिटर गहिराइमा गएको बताइएको छ।

राष्ट्रपति सी जिनपिङको निर्देशन

चीनका राष्ट्रपति सी जिनपिङले भूकम्पपछिको उद्धार कार्यमा उच्च प्राथमिकता दिन र प्रभावित क्षेत्रका मानिसहरूको जीवन रक्षा गर्न सक्दो प्रयास गर्न निर्देशन दिएका छन्। उनले घाइतेहरूको उपचारमा विशेष ध्यान दिन, प्रभावितलाई पुनर्स्थापित गर्न, र घटनाको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
राष्ट्रपति सीले भनेका छन्, “भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत छिटो सम्पन्न गर्न, र प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न विशेष ध्यान दिन आवश्यक छ।”

दिङ्गी काउन्टीमा क्षति

चिनियाँ सञ्चार माध्यमका अनुसार भूकम्पले दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँहरूमा घरहरू भत्किएका छन्। प्रभावित क्षेत्रमा ३०० जना उद्धारकर्ता, मेडिकल स्टाफ, र दुईवटा इमरजेन्सी रेस्पोन्स टोली तैनाथ गरिएको छ।

डिङ्ग्री क्षेत्रमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् आपूर्ति बन्द भएको छ। मौसम विभागले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म रहेको जानकारी दिएको छ।

कोमोलाङ्मा क्षेत्र बन्द

भूकम्पको प्रभावले सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा रहेको माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ। कोमोलाङ्मा क्षेत्रका होटल भवन र वरपरको संरचना क्षतिग्रस्त भए पनि पर्यटक र कर्मचारीहरू सुरक्षित रहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

इतिहासमै शक्तिशाली भूकम्प

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरका क्षेत्रमा विगत पाँच वर्षमा ३ म्याग्निच्युडभन्दा माथिका २९ वटा भूकम्प गइसकेका छन्। तर, आजको भूकम्प तीमध्ये सबैभन्दा शक्तिशाली भएको बताइएको छ।

नेपालमा पनि यस भूकम्पको धक्का महसुस गरिएको छ।
स्रोत: साउथ चाइना मर्निङ पोस्ट, सिन्ह्वा, भूकम्प मापन केन्द्र।

Earthquake China2 1024x596 1

समन्धित समाचार