देवघाट महा-महोत्सव: ऐतिहासिक धार्मिक आयोजनाको तयारी पूरा

71

नेपालकै प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा माघ १ गतेदेखि ३० गतेसम्म विशेष देवघाट महा-महोत्सव आयोजना हुने भएको छ। यस महोत्सवलाई ऐतिहासिक बनाउने उद्देश्यले १ लाख शीला पूजन र देवघाट दिव्यधाम परियोजनाको शिलान्यास गरिने मुख्य कार्यक्रमहरूका रूपमा तय गरिएको छ। आयोजकले यस महोत्सवमा करिब ३० लाख भक्तजनको सहभागिता हुने अनुमान गरेको छ।

महोत्सवको पहिलो दिन साधु-सन्तहरूको आशीर्वाद र मार्गदर्शनमा देवघाट दिव्यधाम परियोजनाको शिलान्यास गरिनेछ। यस अवसरलाई विशेष बनाउन गण्डकी नदीबाट सङ्कलित धार्मिक महत्वका शीलाहरूको पूजा महोत्सवभरि गरिनेछ। आयोजकका अनुसार यसले धार्मिक चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ। महोत्सवमा भक्तजनहरूले कथा श्रवणका लागि विशेष आकर्षणको रूपमा देश-विदेशका ख्यातिप्राप्त कथा वाचकहरू, जस्तै देवी प्रतिभा, यशोदा माताजी, अनुराधा पाण्डेय, र ओम प्रकाश सुवेदीको प्रवचन सुन्ने अवसर पाउनेछन्। विशाल पण्डालमा एकैपटक २० हजार भक्तजनका लागि कथा श्रवणको व्यवस्था गरिएको छ।

70

भक्तजनहरूको सुविधाका लागि महोत्सव अवधिभर निशुल्क खाना, बसोबास, र शौचालयको व्यवस्थापन गरिएको छ। साथै, सुरक्षा र प्रशासनिक व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ। महोत्सवलाई थप विशेष बनाउने उद्देश्यले देशभरका हिन्दू धर्मावलम्बीहरूले राम नाम लेखन र बत्ती काट्ने अभियान सञ्चालन गरिरहेका छन्।

महोत्सवको अर्को प्रमुख आकर्षण माता-पिता सेवा आश्रमको निर्माण हो। ३६५ कोठाहरू रहने यस आश्रमले वृद्ध मातापितालाई सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने लक्ष्य राखेको छ। आयोजक समितिले यस महोत्सवले नेपाललाई विश्वस्तरीय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने विश्वास गरेको छ।

“देवघाट महा-महोत्सवले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश प्रवर्द्धन गर्दै राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्थापित हुने छ,” आयोजक समितिका प्रवक्ताले बताए। साथै, आयोजकले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई महोत्सवमा सहभागी भई एक एक शीला समर्पण कर्ता बन्न विशेष आह्वान गरेका छन्।

समन्धित समाचार