काठमाडौं, पुस २० – अवेरनेस बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार संखमुलस्थित ए वान क्याफे एन्ड पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष श्रीमती सरस्वती शर्माले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा संस्थाका पुर्व कोषाध्यक्ष तथा हाल गुल्मी क्षेत्रकोट गाउँपालिकाका कार्यकारी अध्यक्ष श्री राम प्रसाद पाण्डे सहभागी हुनुभयो।

साधारणसभामा प्रमुख अतिथिका रूपमा संस्थाका ९१ वर्षीय जेष्ठ सदस्य श्री गिरिराज पाण्डेको उपस्थितिले कार्यक्रमलाई विशेष गरायो।
यस कार्यक्रममा संस्थाका विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरू, सल्लाहकारहरू, पुर्व पदाधिकारीहरू, वर्तमान कार्यसमितिका पदाधिकारीहरू, शेयर सदस्यहरू, व्यवस्थापक, कर्मचारी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।
सभाले संस्थाका वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन, आगामी योजनाहरू र सुधारका उपायहरूबारे छलफल गर्यो। कार्यक्रममा सहभागीहरुले संस्थाको विकास र भविष्यका योजनाहरुमा आफ्नो विचार राखेका थिए।
साधारणसभाले संस्थाको आर्थिक गतिविधिलाई अझ प्रभावकारी बनाउँदै सदस्यहरूको आवश्यकता अनुसार सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा सदस्यहरुलाई अध्यक्ष शर्माले धन्यवाद ज्ञापन गर्दै सहकारी क्षेत्रलाई अझै सबल र सक्षम बनाउनका लागि सबैको साथ र योगदान आवश्यक रहेको बताउनुभयो।
कार्यक्रम संयोजन सुमधुर वातावरणमा सम्पन्न भएको थियो।