पबित्र धार्मिक स्थल देवघाट धाममा यही माघ १ गतेबाट संचालन हुन लागेको मकर स्नान महोत्सव अन्तत: विवादमा परेको छ |
धार्मिक क्षेत्रलाई कब्जा गरि हिन्दु धर्मालम्बीहरुको मर्म र भावनालाई ठेस पुर्र्याई अनुचित आर्थिक गतिबिधी संचालन गर्न लागेको भन्ने जन गुनासो आएको भन्दै विश्व हिन्दु महासंघ नेपाल, चितवनको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको छ |
विश्वहिन्दु महासंघ नेपाल, चितवनका अध्यक्ष प्रेम गैरे तथा विश्व हिन्दु युवा संघ, चितवनका अध्यक्ष श्याम पौडेल लगायत विभिन्न धार्मिक संघसंस्थाका अभियन्ताहरुको उपस्थितीमा बुझाईएको ध्यानाकर्षण पत्रमा देवाघाट क्षेत्र बिकास समीतिसँग ठेक्का लिई कुनै एक स्वघोषित महाराजले महिनौ दिन सम्म लाखौ भक्तजनहरुलाई प्रभावामापारी स्वतन्त्र धार्मिक गतिबिधीलाई नै रोक्ने गरी गर्न लागिएको उक्त महोत्सव आर्थिक चलखेल र अनुचित लाभका लागि भएको भन्ने जिकिर गर्दै स्थानीय धार्मिक संघ संस्था र सरोकारवाला पक्षसंग समन्वय नगरी अगाडि बढेमा त्यस्ता कार्यक्रम रोक्ने चेतावनी दिईएको छ |
ध्यानाकर्षण पछि संचार माध्यमसंग कुरागर्दै विश्व हिन्दुमहासंघका अध्यक्ष प्रेम गैरेले पबित्र धार्मिक स्थल देवघाटमा स्थानीय धार्मिक संघसंस्था र सरोकार वालाहरुसंग समन्वय नगरी सिन्डिकेट खडा गरि सनातन हिन्दु धर्वालाम्बीहरुको मर्म र भावना बिपरित महोत्सव आयोजना गर्न लागिएकोमा खेद ब्यक्त गर्नु भयो |
त्यसैगरी कुनै एक व्यक्तिले धार्मिक क्षेत्र कब्जा गरी अनुचित आर्थिक गतिबिधी गर्न पबित्र तिर्थस्थलमा छुट छैन भन्दै विश्व हिन्दु युवा संघका अध्यक्ष श्याम पौडेलले सबैसंग समन्वय नगरी कसैको पनि अधिकार हनन गरेर देवघाट क्षेत्र बिकास कोष अगाडि बढ्न खोजे हिन्दु युवा संघ हेरेर नबस्ने बताउनु भयो | – दिनेश प्रसाद बढु
