गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ निकासा

चितवन जिल्लामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ निकासा गराउने भएको छ ।

बिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुदान स्वरुप भरतपुर महानगरपालिकालाई उक्त रकम निकासा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको बजेटमा नै विनियोजन गरिएको रकम महानगरपालिकालाई प्रदेश सरकारले उपलब्ध गराउन लागेको हो । प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराएको थियो ।

यस्तै, प्रदेश प्रमुखको कार्यालयको सबलीकरणका लागि १० लाख बजेट उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सिटिइभिटी) प्रमुख कार्यकारी निर्देशकमा नुवाकोट निवासी शान्ति लामालाई नियुक्त गरेको छ ।

बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड दफावार छलफलका लागि मन्त्रीस्तरीय समितिमा पठाउने निर्णय गरेको छ ।