भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको हत्या परिवारकै सदस्यले गरेको पुष्टि भएको छ। बुवा र भाइको हत्या आफूले नै गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार मिलनले प्रहरी वृत्त महाराजगञ्जमा गएर आत्मसमर्पण गरेका हुन्। सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय कान्छा छोरा प्रबिन आचार्य बालकोटमा मृत अवस्थामा फेला परेका थिए। घटनापछि जेठा छोरा मिलन फरार थिए।
कुलप्रसादको टाउको पछाडि र कानमा चोट लागेको अवस्थामा शव फेला परेको थियो। आत्मसमर्पणका क्रममा मिलनले प्रहरीलाई भनेका छन्, ‘बुवा र भाइलाई मैले नै हत्या गरेको हुँ।’