अछामका वृद्धवृद्धा भत्ता लिन सास्ती खेप्दै, बैङ्कको लापरबाहीले १० दिन कुर्न बाध्य

asdga

अछाम, पुस ३ गते। मङ्गलवार बिहान ७ बज्नै लागेको बेला पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजारस्थित सुन्तलावारिमा उमेरले ७० काटेका करिब ५० जना वृद्धवृद्धा जम्मा भएका थिए। बिहान १० बज्दा यो संख्या एक सयभन्दा बढी पुगेको थियो। नजिकैको माछापुच्छ्रे बैङ्कले भत्ता वितरण गर्न थालेपछि पालो कुर्न उनीहरू सडक पेटीमा बसिरहेका थिए।

भत्ता लिन बैङ्क पुगेका यी वृद्धवृद्धाहरू १० दिनदेखि यसैगरी जम्मा हुने गरेका छन्। विनायकमा रहेको माछापुच्छ्रे बैङ्कको आन्तरिक समस्याका कारण कारोबार बन्द हुँदा उनीहरूले आफ्नो खातामा भएको पैसा झिक्न सकेका छैनन्। हातमा कागजात बोकेका वृद्धवृद्धाहरू दिनभर सडक पेटीमै बसेर आँखा नझिम्काई बैङ्कतिर हेर्दै थिए।

१० दिनदेखि सडक पेटीमै बित्दै दैनिकी

पैसा निकालेर आफ्नो गर्जो टार्ने आशामा बैङ्क अगाडि लाइन लागेका वृद्धवृद्धाहरूको १० दिन यताको दैनिकी सुन्तलावारिको सडक पेटीमै बितिरहेको छ। चिसो भुइँमा दिनभर धर्ना बसेर फर्किनेहरू निराश छन्।

पञ्चदेवल विनायक नगरपालिका–5 लयाँटिकी ७८ वर्षीया महामति भुलले मङ्गलवार बिहान ४ बजे नै घरबाट लौरो टेकेर, टर्च बालेर विनायक बजार निस्किनुभयो। तीन घण्टाको उकालो हिँडेर झिसमिसे उज्यालोमा विनायक पुग्नुभएका उहाँ दिनभर भोको पेट सडक पेटीमै बसेर घर फर्किनुभयो। महामतिले भन्नुभयो, “७० वर्ष पुगेको ७–8 वर्ष भैसक्यो, उमेरले केही थाहा छैन।” एक सातादेखि दिनदिनै बैङ्क धाइरहनुभएका उहाँले अहिलेसम्म पैसा पाउनुभएको छैन।

लयाँटीकै ४२ वर्षीया एकल महिला सुर्जा नेपाली पनि बैङ्कबाट रकम निकाल्न दिनभर सडक पेटीमै धर्ना बसेकी थिइन्। “घरमा चामल सकिएको १५ दिन भयो, छोराछोरीलाई स्कुलको शुल्क पनि तिर्न सकेकी छैन,” उनले रुँदै सुनाइन्।

बैङ्कको लापरबाही र समस्याका कारण सेवाग्राही मारमा

माछापुच्छ्रे बैङ्कको विनायक शाखामा ७,६०० सामाजिक सुरक्षा भत्ता पाउने र अन्य खातावालासहित १६,००० सेवाग्राही छन्। दैनिक १०० भन्दा बढी व्यक्तिहरूले कारोबार गर्ने यस शाखामा आएको समस्या समाधानमा ढिलाइ हुँदा सेवाग्राहीको सास्ती बढेको छ। शाखा प्रबन्धक वसन्त नेपालीका अनुसार विद्युत् जडान र इन्टरनेटमा खराबी आएको र मर्मतका लागि केन्द्रीय कार्यालयमा पत्राचार गरिएको छ। तर, समाधान कहिले हुने भन्ने निश्चित छैन।

पञ्चदेवल विनायक नगरपालिकाको कार्यकारी विवादका कारण असार महिनायता सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या थपिएको छ। बैङ्कको सेवा प्रवाहमा देखिएको अवरोधले वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति लगायतका सेवाग्राहीलाई दैनिक जीवनयापनमा गम्भीर असर परेको छ।

स्थानीयको अपील: समस्या तत्काल समाधान होस्

वृद्धवृद्धा, एकल महिला र अन्य सेवाग्राहीले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। महामति भुलले भनिन्, “हामी जस्ता असहायलाई बैङ्कको लापरबाहीले मारमा पारेको छ। पैसा झिक्न नपाउँदा साह्रै गाह्रो भएको छ।”

सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउने व्यवस्था नगरिए वृद्धवृद्धा, असहाय तथा अपांगता भएका व्यक्तिहरूको जीवनमा थप संकट आउनेछ। सम्बन्धित पक्षहरूले समस्या समाधानमा चाँडो पहल गर्ने सेवाग्राहीको माग रहेको छ।

समन्धित समाचार