एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै

4 11

नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ चरण आजदेखि सुरु हुँदैछ। लिग चरणको खेलबाट शीर्ष चार स्थानमा रहने टोलीहरूले प्लेअफमा स्थान बनाएका छन्। अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीहरूले पहिलो क्वालिफायर खेल्नेछन्, जबकि तेस्रो र चौथो स्थानमा रहेका टोलीहरूले एलिमिनेटर खेल्नेछन्।

आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा एलिमिनेटर भिडन्त हुनेछ, जसमा तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स आमनेसामने हुनेछन्। खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

दोस्रो खेल आज दिउँसो १ बजे हुनेछ, जसमा पहिलो क्वालिफायर खेल हुनेछ। यसमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स भिड्नेछन्। यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ, भने पराजित हुने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।

दोस्रो क्वालिफायर भोली (बिहीबार) हुनेछ, जहाँ पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। अन्तिम फाइनल खेल भने शनिबार हुनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सम्पन्न एनपीएल नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो आर्थिक लगानीमा आयोजना गरिएको प्रतियोगिता हो। विभिन्न देशका ४० भन्दा बढी चर्चित खेलाडीको सहभागीता रहेको यस प्रतियोगिताले थप चर्चा पाएको छ। विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार जित्नेछ।

समन्धित समाचार