२ पुस, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।
८४ दिनपछि प्रतिवेदन पेश
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ भने तीमध्ये ३७ जना फरार प्रतिवादी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले प्रतिवादीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने रायसहित प्रतिवेदन पेश गरेको हो । अनुसन्धान प्रतिवेदन बुझाए पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले थप म्यादको अनुमति मागिनेछ । त्यसैका लागि आज बिहान रवि लामिछानेसहित अन्य व्यक्तिहरुलाई अदालत उपस्थित गराइएको हो ।
संसदीय प्रतिवेदनले देखायो संलग्नता
प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रवि लामिछानेको संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो । त्यसपछि अनुसन्धान अघि बढाइएको थियो ।
जोशी र लामिछानेको पक्राउ
यसैक्रममा छविलाल जोशीलाई ६ असोजमा प्रहरीले पक्राउ गरेको थियो भने रवि लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो । हाल यस प्रकरणमा अदालतको थप निर्णयको प्रतीक्षा गरिएको छ ।