झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
आइतबार राति १०:१० बजे दमक नगरपालिका–१०, सेतुमारी चोकनजिकको भित्री सडकखण्डमा, बालुबथानतर्फ जाँदै गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–८ निवासी २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका–५ की ३२ वर्षीया जमुना धिमाल, र २५ वर्षीया मनचरी राई (ओम कुमारी राई) घाइते भएका थिए।
घाइते सबैलाई उपचारका लागि दमक अस्पताल पठाइएकोमा दुई महिलाको उपचारको क्रममा राति ११:३५ बजे मृत्यु भएको छ। चालक थापालाई थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड रेफर गरिएको छ।
त्यसैगरी, शिवसताक्षीमा डाइभर्सनमा भएको अर्को दुर्घटनामा एक जनाको ज्यान गएको छ। आइतबार साँझ करिब ७ बजे शिवसताक्षी नगरपालिका–१०, किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको को २ त ४१४५ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो। मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्र्याक्टरको पछाडिको भागमा ठोक्किएपछि मोटरसाइकल चालक मेचीनगर नगरपालिका–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बू र पछाडि सवार दमक नगरपालिका–५ की ३५ वर्षीया अनिता राई घाइते भएका थिए।
दुवैलाई बीएण्डसी अस्पताल, बिर्तामोड लगिएकोमा साँझ ७:२० बजे लिम्बूको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी अर्जुन सोडारीले जानकारी दिनुभएको छ। दुर्घटनामा संलग्न ट्र्याक्टर कालिका कन्स्ट्रक्सनको रहेको र चालक फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।