नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। “स्थानीय तहमा पार्टी कामका समस्या र समाधान” विषयक यस गोष्ठीमा देशभरिबाट प्रदेश, जिल्ला जनसंगठन तथा तोकिएका जनप्रतिनिधिहरूसहित तीनसय जनाको सहभागिता रहेको थियो। कार्यशालाले विभिन्न ६ बुँदे घोषणापत्र जारी गरेको छ।
राष्ट्रिय कार्यशालाले माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने र आधारभूत तहसम्म कमिटी निर्माणसहित सदस्यता विस्तार र जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ। पार्टी सदस्यता नवीकरण २०८१ सालको चैत महिनाभित्र विधिसम्मत रूपमा सम्पन्न गर्ने तथा सम्पूर्ण सदस्यलाई अनलाइनमा दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यशालाले आगामी चैत महिनासम्ममा राष्ट्रिय युवा महोत्सव आयोजना गर्न आग्रह गर्दै, पार्टी र नेतृत्वविरुद्ध भइरहेका षड्यन्त्र र कुप्रचारको सशक्त प्रतिवाद गर्न र पार्टी नीति, नेतृत्व तथा राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्न प्रतिबद्धता जनाएको छ।
कार्यशालामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो। साथै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, र महासचिव शंकर पोखरेलले पनि कार्यशालालाई सम्बोधन गर्नुभएको थियो।
कार्यशालाको पहिलो दिन महासचिवले पार्टी केन्द्रद्वारा तयार पारिएको वार्षिक कार्य योजनाको अभिमुखीकरण गर्नुभएको थियो। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले मुख्य विषयवस्तुमा आधारित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गराइएको थियो, जसको सहजीकरण प्रदेश इन्चार्जहरू र संगठन विभागका सदस्यहरूले गरेका थिए।
दोस्रो दिन समूहगत छलफलको प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदन प्रस्तुतिमा पार्टी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र प्रदेश इन्चार्जहरूको उपस्थिति रहेको पार्टी संगठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभएको छ।





