नेपाल पत्रकार महासंघको चुनाव आज हुँदैछ ।
केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखा तथा प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । यस पटकको चुनावमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ ।
केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्वीरसहित परिचयपत्रका साथ उपस्थित भई मतदान गर्न सकिनेछ ।





