नेपाली कांग्रेसभित्रको विवाद: गगन थापाको चरित्रमाथि नेता केदार कार्कीको गम्भीर आरोप

28

काठमाडौं, २४ मंसिर – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीभित्रको नेतृत्व, गगन थापाको चरित्र, र सत्तासम्बन्धी मुद्दामा गम्भीर टिप्पणी गरेका छन्। नेपाली रेडियो नेटवर्कबाट प्रसारित “नेपाली बहस” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले गगन थापालाई पार्टीभित्र विभाजनकारी भूमिका खेलेको आरोप लगाए।

गगन थापाको राजनीतिक चरित्रमाथि आलोचना

नेता कार्कीले गगन थापालाई जसले उनलाई माथि पुर्‍याउँछ, उनैको विरुद्ध लाग्ने प्रवृत्ति भएको व्यक्त गरे। उनले भने, “गिरिजाप्रसाद कोइरालाले नेविसंघको महामन्त्री बनाइदिनुभयो, तर पछि उनकै विरुद्ध अभियान चलाइयो। सुशील कोइरालाको समर्थन पाएपछि उहाँको पनि आलोचना गरियो। रामचन्द्र पौडेलसँग निकटता बनाइयो, तर पछि कृष्णप्रसाद सिटौलाको पक्षमा लागियो।”

उनले गगन थापाको नेतृत्वमा काठमाडौं–४ मा भएको रास्वपासँगको गठबन्धनलाई “कुरुप गठबन्धन” को संज्ञा दिँदै कांग्रेसलाई नै नोक्सान पुर्‍याएको आरोप लगाए।

कांग्रेसभित्रको विभाजन र गाली संस्कृति

कार्कीका अनुसार, गगन थापाले पार्टीभित्र गालीगलौज संस्कारको विजारोपण गरेका छन्। “गाली गर्ने र गाली गर्दापनि असभ्य भाषा प्रयोग गर्ने प्रवृत्ति थापाकै कारणले सुरु भएको हो। यसले पार्टीको एकता र छविमा असर पुर्‍याएको छ,” उनले भने।

सत्ता गठबन्धनप्रति असन्तुष्टि

नेता कार्कीले कांग्रेस–एमाले गठबन्धनलाई केही लोभी–पापी नेताहरुको स्वार्थमा केन्द्रित भएको आरोप लगाए। “यो गठबन्धन जनताको आवश्यकतालाई सम्बोधन गर्न असफल भएको छ। सरकारको प्राथमिकता सुशासन र सेवा नभएर झुटो आश्वासन बाँड्नमा छ,” उनले भने।

कांग्रेसको छवि सुधारको आह्वान

उनले कांग्रेसले आफ्नो लोकतान्त्रिक छवि बचाउन तत्काल कदम चाल्नुपर्नेमा जोड दिए। “माओवादीसँगको गठबन्धनको पुनरावलोकन गर्नुपर्छ। तर, पार्टीले जनताको विश्वास जित्न आफ्नो छविमा सुधार ल्याउन जरुरी छ,” उनले भने।

शेखर कोइरालामाथि अपमानजनक व्यवहारको चर्चा

कार्कीले कोशी प्रदेशमा शेखर कोइरालामाथि अपमानजनक व्यवहार भएको र यसले पार्टीभित्र असन्तुष्टि थपेको बताए। कोइरालालाई ह्युमिलियट गरिएपछि उनले अर्को जिल्लाको कार्यक्रममा सहभागी हुनुपर्ने अवस्था आएको कार्कीले उल्लेख गरे।

नेतृत्वप्रति चर्को आलोचना

केदार कार्कीले गगन थापालाई शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने सम्भावनाबारे प्रतिक्रिया दिँदै भने, “गगन थापा पार्टी नेतृत्वमा आए पनि कांग्रेसलाई नोक्सान हुने सम्भावना छैन। तर, पार्टीले आफ्नो एकता र छविलाई जोगाउन नेतृत्वले गम्भीरता देखाउनुपर्छ।”

कांग्रेसको भविष्यको दिशा

नेता कार्कीका तीव्र टिप्पणीले कांग्रेसभित्र नेतृत्व र आन्तरिक विवादबारे नयाँ बहस सुरु गरेको छ। पार्टीले आगामी चुनावसम्म नेतृत्वलाई एकताबद्ध गर्ने कि विभाजन अझै चर्काउने भन्नेमा सबैको ध्यान केन्द्रित छ।

समन्धित समाचार