कर्णालीले चितवन राइनोजलाई हरायो

9 2

 नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । जारी लिगमा आफ्नो तेस्रो खेलमा कर्णालीले चितवन राइनोजलाई हराएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा कर्णालीले चितवनमाथि ६ विकेटको जित हात पार्यो । चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि शिखर धवनले ४५, चाडविक वाल्टनले ३०, देव खनालले २५, जिसन मक्सुदले अविजित १२ तथा अर्जुन घर्तीले अविजित ११ रन बनाए । बलिङतर्फ चितवनका कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रवि बोपाराले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन जोड्यो । उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । ४० बलमा ५९ रनसहित अविजित रहेका बोपाराले ७ चौका र १ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले २३ रन जोडे ।

बोपारा र कप्तान मल्लबीच तेस्रो विकेटका लागि ६० रनको साझेदारी भएको थियो । तर, कर्णालीका मक्सुदले मल्लाई आउट पार्दै उक्त साझेदारी तोडे । बलिङतर्फ कर्णालीका विपिन शर्माले तीन विकेट लिए भने जिसन मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।

समन्धित समाचार