नेत्रहिन टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।
यो हारसँगै नेपालको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
विभिन्न ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौँथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो ।
त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो । आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् ।
यसैगरी, बाबर अली ३२ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याट्समेनहरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।।