नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र शिक्षा प्रणालीमा समस्याहरू विद्यमान रहेको बताएका छन् ।
शुक्रबार निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै दाहालले निजी विद्यालयले प्रदान गरेको शिक्षामा मात्र नभइ समग्र सार्वजनिक शिक्षा प्रणालीमा पनि समस्याहरू विद्यमान रहेको बताएका हुन् । उनले संघीय शिक्षा ऐन निर्माणमा ढिलाइ हुँदा प्रदेश र स्थानीय सरकारसम्म त्यसले समस्या ल्याएको बताए ।
स्थानीय तहले शिक्षाको व्यवस्थापनका लागि आवश्यक ज्ञान,स्रोतसाधन र क्षमता नपाएको उनको भनाइ छ । प्रचण्डले भने,‘शिक्षामा पर्याप्त लगानी गर्न सकिएको छैन । नेपालको कुल बजेटको न्यून हिस्सा मात्र शिक्षा क्षेत्रमा खर्च हुने गरेको छ ।
अझै पनि ग्रामीण क्षेत्रका विद्यालयहरूमा भौतिक संरचनाको विकास, स्रोतसाधनको व्यवस्था र गुणस्तरीय शिक्षण सामग्रीको अभाव छ ।
टाढा रहेका विद्यालयमा विद्यार्थीहरू लामो दूरी हिँड्न बाध्य हुन्छन्, पहिरो, बाढी, हिमपात का कारण विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्न समस्या भइरहेको छ । विद्यालयहरूमा पर्याप्त संख्यामा दक्ष शिक्षकहरूको व्यवस्था गर्न सकिएको छैन, परिणाम शैक्षिक स्तर अपेक्षाकृत कमजोर छ ।’