काठमाडौं, ६ मंसिर। नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) भ्रष्टाचार नियन्त्रणमा असफल भएको र भ्रष्टाचारीहरुकै प्रभावमा चलिरहेको गम्भीर आरोप लगाएका छन्। बुधबार प्राइम टाइम्स टेलिभिजनको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खरेलले अख्तियारको असक्षमता र राजनीतिक भागबण्डाका कारण निष्पक्षता गुमाएको दाबी गरे।
खरेलले वर्तमान आयोगका आयुक्तहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको भागबण्डाबाट नियुक्त भएको उल्लेख गर्दै, ती आयुक्तहरुले तिनै नेताहरुविरुद्ध कारबाही गर्न नसक्ने आरोप लगाए। “भागबण्डाको आधारमा नियुक्ति भएका आयुक्तहरु कसरी आफ्नो राजनीतिक नियुक्तिकर्तालाई कारबाही गर्न सक्छन्?” खरेलको भनाइ थियो।
उनले प्रहरी संगठनले आपराधिक घटनामा कारबाही गर्न सफल भए पनि भ्रष्टाचार नियन्त्रणको लागि अख्तियारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरे।
भ्रष्टाचारको लागि ‘स्वर्ण भूमि’ बनेको नेपाल
रमेश खरेलले नेपाल अहिले भ्रष्टाचारीहरुका लागि ‘स्वर्ण भूमि’ बनेको बताए। “राजनीतिकर्मीलाई कारबाहीमा ल्याउने क्षमता अख्तियारमा छैन। शीर्ष नेता बन्नुपर्ने पात्रहरु अहिले शीर्ष ठग बनेका छन्,” उनले भने।
अख्तियार प्रमुख प्रेम राईको नेतृत्वलाई समेत खरेलले कमजोर ठहर गर्दै भ्रष्टाचार नियन्त्रणमा आवश्यक क्षमता र इच्छाशक्ति नभएको आरोप लगाए।
अख्तियारलाई सक्षम र निष्पक्ष बनाउनुपर्ने आवश्यकता
उनले अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएर सक्षम र निष्पक्ष संस्था बनाउनु पर्नेमा जोड दिए। “भ्रष्टाचार नियन्त्रणको लागि अख्तियार प्रभावकारी र जनताप्रति उत्तरदायी हुन आवश्यक छ,” खरेलले भने।
उनको यो अभिव्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई लिएर फेरि एकपटक बहस सुरु गराएको छ।