संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले नेपाललाई जलवायु परिवर्तनसम्बन्धी कार्यहरूमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अजरबैजानको बाकुमा सम्पन्न द्विपक्षीय भेटवार्तामा युएनडिपीका सह महासचिव मार्कोस नेटोले यो घोषणा गर्नुभएको हो।
भेटघाटमा नेपालको प्रतिनिधित्व वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालको नेतृत्वमा भएको थियो। छलफलका क्रममा युएनडिपीले नेपालमा हाल सञ्चालन भइरहेका कार्यक्रमको समीक्षा गर्दै आगामी दिनका योजनाबारे विचार आदानप्रदान गरेको सचिव खरालले जानकारी दिनुभयो।
सह महासचिव मार्कोसले नेपालको जलवायु अनुकूलन कार्य, हानि-नोक्सानी व्यवस्थापन, र पेरिस सम्झौताको धारा ६ अन्तर्गतको कार्बन व्यापारमा नेपाल सरकारलाई प्रत्यक्ष सहयोग गर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका मुद्दाहरूमा नेपालले उठाएका विषय विशेषतः हिमाल र हानि-नोक्सानी सम्बन्धी प्रयासको प्रशंसा गर्नुभएको थियो।
युएनडिपी नेपालका प्रतिनिधि दीपक केसीका अनुसार, युएनडिपीले राष्ट्रिय निर्धारण योगदान (एनडीसी ३) निर्माण र त्यसको कार्यान्वयन योजना बनाउन सहयोग गर्ने वचन दिएको छ। साथै, जैविक विविधता रणनीति र कार्य योजना निर्माणमा पनि सक्रियताका साथ नेपाललाई सघाइरहेको छ।
सह महासचिव मार्कोसले युएनडिपी नेपाल सरकारसँग सहकार्य र साझेदारी गर्न सदैव तत्पर रहेको र जलवायु प्रतिबद्धता तथा अन्य महत्त्वपूर्ण कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो।
युएनडिपीले नेपालमा विकास परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक, र वातावरणीय सुधारमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ। जलवायु परिवर्तनको सामना गर्नका लागि युएनडिपीको यस प्रतिबद्धताले नेपालको जलवायु नीति र कार्यान्वयनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।