इजरायली आक्रमणमा परी गाजामा २० जनाको ज्यान गएको छ ।
आज इजरायली हवाई आक्रमणमा परी ४ महिला र ३ बालबालिकासहित कम्तीमा २० जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा निकायले जानकारी दिएको छ । मध्य गाजाको बुरेज शरणार्थी शिविरमा भएको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । शिविरको एक घरमा भएको अर्को आक्रमणमा परी कम्तीमा एक महिलाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । दक्षिणी शहर राफामा आज बिहान इजरायली ड्रोनले आक्रमण गरिएको र यसका कारण कम्तीमा ५ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको एक घरमा रातभर भएको आक्रमणमा परी तीन महिला र एक बालकसहित अन्य चार जनाको मृत्यु भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार १३ महिनाभन्दा बढी चलेको युद्धमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४३ हजार ७९९ पुगेको जनाएको छ ।