कोरोना कहर : दुई वर्षदेखि सुनसान बन्यो उत्तरी हिल्सा नाका

hilsa naka

हुम्ला। पर्यटकीय सिजनमा पर्यटक तथा अन्य मानिसको निक्कै चहल पहल हुने चीनसँग नाका जोडिएको नाम्खा गाउँपालिकाको हिल्सामा दुई वर्षयता सुनसान रहेको छ । पर्यटकीय सिजनमा सबैभन्दा धेरै भीडभाड हुने हिल्साका होटेल बन्द रहदै आएका छन् । कोरोनाका कारण चीनसँगको नाकाबन्दी हुँदा मानसरोवर कैलाशको दर्शन गर्ने बाह्रै मासका पर्यटक र आन्तरिक पर्यटकहरु नआएपछि हिल्सा बजार बन्दजस्तै देखिएको हो ।

हिल्साका होटेल व्यवसायी कर्मा लामाले दुई वर्षदेखि हिल्सानाका सुनसान छाएको बताए । उनले आन्तरिक र बाह्यगरि पन्ध्र हजारसम्म पर्यटकहरु यो नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्दा निक्कै पहल हुने गरेको भए पनि दुई वर्षयता पर्यटक आउने कार्य नभएको कारण हिल्सा बजार सुनसान हुँदै आएको जानकारी दिए । हिल्साको हेलिप्याडबाट चीनको सिमानासम्म पर्यटक, भरिया र अन्य मानिसको आउजाउ बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म हुने गर्थ्यो । तर, अहिले त्यो अवस्था सपनाजस्तो भएको बताउँदै उनले कोरोनाले धेरैको रोजगारी खोसेको बताए ।

हिल्सामा मात्र डेढ सय भरियाले काम पाउने गरेका थिए । त्यसैगरी, मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय पर्यटकहरु आउने चा बढेपछि होटेलले मात्र बास बस्न नपुगेर ब्यक्तिका घरघरमा पठाएको सम्झँदै उनले अहिले त्यो सपना जस्तो हुन थालेको बताउँछन् ।

पर्यटकहरुको आगमन नहुँदा हिल्सामा पर्यटक लक्षित सात वटा होटेल पनि बन्द रहँदै आएका छन् । पर्यटनका पिकसिजनमा सिमकोटबाट हिल्साका लागि मात्र १० वटा हेलिकोप्टरले डेढ सय उडान भर्ने गरेका थिए । त्यो अवधिमा एक करोडसम्म भरियाले कमाउने गर्थे भने होटेल व्यवसायीले चार करोडको कारोबार गर्ने गरेका थिए । गत वर्ष कोरोना त्रासदेखि हिल्साका अधिकांश होटेल र घरहरु बन्द रहँदै आएका छन् ।

समन्धित समाचार