रुपन्देही सहकारी ठगी प्रकरण: रवि लामिछानेको बयान सकियो, भोलि पोखरा पठाइने

rabi lamichhane in bhairahawa

२९ कात्तिक, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई शुक्रबार मात्रै पोखरा पठाइने भएको छ। मंगलबार पोखराबाट बुटवल ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीमा बयान बिहीबार साँझ सकिएको हो।

सरकारी वकिलको कार्यालयमा बिहीबार भएको बयानपछि लामिछानेलाई शुक्रबार बिहानमात्र पोखरा फिर्ता पठाइने जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिएका छन्।

लामिछानेसँग लिखित रुपमा ७० भन्दा बढी प्रश्न सोधिएको र उनले अधिकांशमा इन्कारी जवाफ दिएको बताइएको छ। बयान प्रक्रिया सकिएपछि अन्तिम प्रमाणिकरण गर्न राति अबेरसम्म लागेकाले उनलाई शुक्रबार पोखरा पठाइने निर्णय गरिएको हो।

यस ठगी प्रकरणमा लामिछानेसहित अन्य प्रतिवादीहरूमाथि सहकारीको ८६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। लामिछानेले गोर्खा मिडिया नेटवर्क मार्फत व्यापारिक कर्जा स्वरुप दुई करोड रुपैयाँ सहकारीको रकमको अपचलनमा प्रयोग गरेको देखिएको छ।

संसदीय छानबिन समितिले लामिछानेको संलग्नताबारे प्रतिवेदन बुझाउँदै कानुनी कारबाहीको सिफारिस गरेको थियो। सरकारी वकिल कार्यालयले पूरक अभियोजन तयार गर्दै छानबिनलाई अघि बढाइरहेको छ।

प्रहरीको उच्च सुरक्षा व्यवस्था

रुपन्देहीको जिल्ला सरकारी वकिल कार्यालय परिसरमा बयानको क्रममा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। सरकारी वकिल कार्यालयको वरपर १०० मिटरभित्र प्रदर्शन तथा नाराबाजी गर्न निषेध गरिएको थियो।

लामिछानेको सहकारी ठगीसँगको कथित संलग्नताले नेपालमा चर्चामा रहेको यो मुद्दा थप जटिल मोडमा पुगेको छ, जसले सहकारीका हजारौं पीडितको ध्यान तानिरहेको छ।

समन्धित समाचार