अमेरिकी सरकारी अधिकारीमाथि इजरायल-इरान आक्रमण योजनासम्बन्धी गोप्य सूचना चुहाएको आरोप

Untitled 5 aajakauranews

वासिङ्टन, कात्तिक २९ गते । अमेरिकी सरकारका लागि काम गर्ने एक कर्मचारीमाथि इरानमाथि आक्रमण गर्ने इजरायलको पहिलाको योजनासम्बन्धी गोप्य सूचना चुहाएको आरोप लागेको छ। बुधबार अदालतमा दायर कागजात अनुसार, आसिफ विलियम रहमान नामक उक्त व्यक्तिलाई एफबिआईले यसै हप्ता कम्बोडियामा पक्राउ गरेको थियो। उनलाई अमेरिकी क्षेत्र गुआममा पहिलो पटक अदालतमा पेश गरिने बताइएको छ।

रहमानमाथि भर्जिनियाको संघीय अदालतले “राष्ट्रिय रक्षा जानकारीको जानाजानी प्रसारण” सम्बन्धी दुई अभियोग लगाएको छ, जसमा दोषी ठहर भएमा गम्भीर जेल सजाय हुन सक्छ। अधिकारीहरूले रहमानसँग गोप्य सुरक्षा स्वीकृति रहेको बताइरहेका छन् तर कुन संघीय एजेन्सीमा उनी कार्यरत थिए भन्नेबारे भने हालसम्म जानकारी दिइएको छैन।

चुहाएको भनिएको सूचना गत महिना टेलिग्राम च्यानलमा देखा परेको थियो, जसमा नेसनल जियोस्पाटियल–इन्टेलिजेन्स एजेन्सी र नेसनल सेक्युरिटी एजेन्सीलाई श्रेय दिइएको थियो। ती कागजातमा इजरायलले अक्टोबर १ मा इरानको विस्फोटक ब्यालिस्टिक मिसाइल आक्रमणको प्रतिक्रियास्वरूप सैन्य आक्रमणको तयारी गरिरहेको उल्लेख छ। यसै सन्दर्भमा इजरायलले अक्टोबरको अन्त्यतिर इरानका केही ठूला स्थानहरूमा आक्रमण गरेको थियो।

चुहिएको भनिएको ‘फाइभ आइज’ साझेदारीका कागजातमा अमेरिका, बेलायत, क्यानाडा, न्युजिल्यान्ड, र अस्ट्रेलिया जस्ता राष्ट्रहरूबीच गोप्य सूचनाहरूको आदानप्रदान गरिएको उल्लेख छ। न्यूयोर्क टाइम्सले रहमानको गिरफ्तारीबारे पहिलो रिपोर्ट सार्वजनिक गरेको थियो।

रासस/एपी

समन्धित समाचार