रुकुमपश्चिममा चाडपर्वको अवसरमा सेवाग्राहीको भीड, जिल्ला प्रशासन कार्यालयको जनशक्ति थप

prashasan bhid Rukum Raju

रुकुमपश्चिम, कात्तिक २९ गते। जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पछिल्ला केही दिनदेखि सेवाग्राहीको भीड बढ्दै गएको छ। दसैँ र तिहार पर्वसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार, चाडपर्वको मौका पारेर घर फर्केका व्यक्तिहरूले विभिन्न सेवा लिने क्रममा कार्यालयमा चाप बढेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार कार्यालय समय सुरु हुनु पहिल्यै सेवाग्राही कार्यालयमा उपस्थित भइरहेका छन्। मंगलबार मात्रै ९२ वटा नयाँ र ३१ वटा प्रतिलिपि गरी १२३ वटा नागरिकता वितरण गरिएको थियो। सामान्य दिनमा दैनिक १५-२० वटा नागरिकता जारी हुने गरेकोमा चाडपर्वको बेला यो सङ्ख्या ह्वात्तै बढेको छ। सोमबार पनि ७५ नयाँ नागरिकता र ३१ प्रतिलिपि गरी १०६ वटा नागरिकता जारी गरिएको थियो। त्यस्तै, मंगलबार ६१ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिनुका साथै १० वटा परिचयपत्र वितरण गरिएको छ। त्यसैगरी, राहदानीका लागि ४६ जना सेवाग्राहीको सिफारिस गरिएको र आठ वटा वितरण गरिएको सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो।

सेवाग्राहीको चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले अन्य सरकारी कार्यालयबाट जनशक्ति थप गरेको छ। कारागार कार्यालय र निर्वाचन कार्यालयबाट एक/एक जना कर्मचारीलाई काममा लगाइएको छ भने प्रशासनकै अन्य शाखाका कर्मचारीलाई नागरिकता शाखामा खटाइएको छ। सुरक्षाको व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। यदि सेवाग्राहीको चाप अझै बढेमा जिल्ला हुलाकलगायतका कार्यालयबाट थप जनशक्ति ल्याइने प्रशासनले जनाएको छ।

चाडपर्वको बेला नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीसँगै अन्य सिफारिसका लागि सेवाग्राहीको चाप बढेपछि कार्यालयमा सेवा प्रभावकारी बनाउन यस किसिमको व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

समन्धित समाचार