प्रचण्डको कटाक्ष: ‘माओवादीहरु सिंहजस्तै थियौं, भेडासँग हिँड्दा कमजोर देखियौं, अब सच्चिनेछौं’

काठमाडौं, २८ कार्तिक – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो प्रधानमन्त्रीत्वको १८ महिने कार्यकाललाई सफल भएको दाबी गरेका छन्। बुधबार आयोजित ‘प्रचण्डपथ: सडक कि सत्ता’ विषयक कान्तिपुर कन्क्लेभ कार्यक्रममा प्रचण्डले यो अवधिमा जनताले परिवर्तनको आशा राखेको महसुस गरेको बताए।

प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्वमा प्रवेश गर्दा चुनौतिपूर्ण परिस्थितिमा काम थालेको स्मरण गराउँदै भने, “मलाई सुरुमा नै थाहा थियो कि सरकार लामो समय टिक्न सक्छ कि सक्दैन। तर, एक महिना भए पनि राम्रो गर्छु भन्ने दृढता थियो। १८ महिना टिक्यो, जुन मेरो लागि ठूलो सफलता हो।”

उनले सत्तारुढ दलका अन्य नेताहरुको जनतामा निराशा देखिएको बेला आफ्नो लोकप्रियता कायम रहेको पनि दाबी गरे। प्रचण्डले भने, “दुई तिहाई भएका नेताहरु जनताको बीचमा जाँदा विरोध र कालो झण्डाको सामना गरिरहेका छन्। म जहाँ पनि जनताको माया पाएको छु, जुन जनताले मेरो परिवर्तनको चाहनालाई बुझेको संकेत हो।”

माओवादीको सच्चिने प्रतिज्ञा

प्रचण्डले माओवादी आन्दोलनको प्रारम्भिक उद्देश्यबारे चर्चा गर्दै विगतमा माओवादीले केही हदसम्म गलत बाटो लिएको पनि स्वीकारे। उनले आफूलाई ‘सिंहजस्तै’ बताउँदै, भेडाको समूहसँग संगत गर्दा कमजोर भएको अनुभूति भएको उल्लेख गरे। प्रचण्डले भने, “हामी माओवादीहरु सिंहजस्तै थियौं। तर, भेडासँग हिँड्दा अलिअलि भ्याभ्या गर्न थालियो। अब त्यो गल्ती नदोहोर्याउने अठोट लिएको छु।”

प्रचण्डको यो भनाइले माओवादीको सच्चिन र फेरि दृढताका साथ अघि बढ्न खोजिरहेको संकेत गरेको छ।