काठमाडौं, कार्तिक २८ – आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगिताको अन्तिम खेलमा आज नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। यो निर्णायक खेल युएईको घरेलु मैदानमा दिउँसो १ः३० बजे सुरु हुनेछ।
छनोट प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार खेलमा जित हासिल गर्दै ८ अंक बनाएको छ भने एक खेलमा मात्र हार बेहोरेको छ। यस चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थाइल्याण्डलाई ६७ रनले हराएको थियो। त्यसपछि कुवेतविरुद्धको दोस्रो खेलमा नेपालले १०८ रनको फराकिलो जित निकाल्यो। यद्यपि, तेस्रो खेलमा आयोजक युएईसँग नेपालले १३ रनको हारको सामना गरेको थियो। त्यसपछि चौथो खेलमा नेपालले थाइल्याण्डमाथि १०६ रनको प्रभावशाली जित निकालेको छ भने पाँचौं खेलमा कुवेतविरुद्ध १६५ रनले जित हात पारेको छ।
अंकतालिकामा युएई १० अंकसहित अपराजित अग्रस्थानमा रहेको छ भने नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ। रनरेटको हिसाबले पनि युएई अगाडि रहेकोले नेपालको लागि आजको खेल जित्नै पर्ने दबाब रहेको छ। यो जितले मात्र नेपाललाई विश्वकपको लागि छनोट हुन सहयोग पुर्याउनेछ।
युएईसँग आजको महत्त्वपूर्ण खेलमा नेपालले बलियो प्रदर्शन गर्दै विश्वकप छनोटमा आफ्नो दाबेदारी कायम राख्न सफल हुनेछ कि भन्ने सबैको चासोको विषय बनेको छ।