नेपालको महिला क्रिकेट टोलीले पहिलो पटक विश्वकपमा स्थान बनायो

nepali cricket

कात्तिक २८, काठमाडौं
नेपालको यू–१९ महिला क्रिकेट टोलीले पहिलो पटक टी–२० विश्वकपमा स्थान पाउन सफल भएको छ। आयोजक यूएईलाई हराउँदै नेपालले ऐतिहासिक रूपमा यो उपलब्धि हासिल गरेको हो। यसअघि नेपालका पुरुष सिनियर टोलीले टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेले पनि महिला टोलीले विश्वकपमा स्थान बनाएको यो पहिलो अवसर हो।

विश्वकपका लागि छनोट प्रक्रिया
यूएईमा भएको एसिया छनोटमा नेपाल, कुवेत, थाइल्याण्ड, र यूएई गरी चार टोलीबीच प्रतिस्पर्धा भएको थियो। छनोटको अन्तिम खेलमा नेपालले यूएईलाई १६ ओभरमै हराउँदै आफ्नो स्थान सुरक्षित गरेको हो। यूएईविरुद्ध दोस्रो खेलमा नेपालले ८४ रनको लक्ष्य १६ ओभरमै पार गर्न सफल भएको थियो। यस खेलमा कृष्मा गुरुङले ४ विकेट लिँदै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिइन् भने कप्तान पूजा महतो, साना प्रविन, र उपकप्तान सोनी पाख्रिनले पनि उत्कृष्ट प्रदर्शन गरे।

जुनियर टोलीको उत्कृष्ट प्रदर्शन
नेपालको बलरहरुले यूएईलाई मात्र ८३ रनमै रोक्दै उत्कृष्ट प्रदर्शन गरे। कृष्मा गुरुङले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्, भने रिया शर्मा र सीमा केसीले २–२ विकेट लिए। ८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रामक सुरुवात गर्दै पहिलो ओभरमै १० रन बनायो र अन्ततः १६ ओभरमै जित हात पारेको थियो।

यू–१९ महिला टी–२० विश्वकपमा सहभागी १६ टोली
नेपालसँगै यो वर्ष यू–१९ महिला टी–२० विश्वकपमा अष्ट्रेलिया, बंगालदेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज, नाइजेरिया, समावा, स्कटल्याण्ड, र अमेरिका सहभागी हुँदैछन्। यस प्रतियोगिता जनवरी १८ देखि फेब्रुअरी ७ सम्म मलेसियामा आयोजना हुनेछ।

समन्धित समाचार