काठमाडौं, २८ कात्तिक – आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले युएईसँगको खेलमा ८४ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन मात्र बनायो। युएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्, जबकि रिनिथा रन्जितले २० रनको योगदान दिइन्। ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका थिए।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन खर्च गर्दै ४ विकेट लिइन्। उनले कप्तान समाइरा धर्निधरसहित एकै ओभरमा ३ खेलाडीलाई आउट गरिन्। रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन्।
नेपाललाई अब यूएईलाई हराउँदै विश्वकपमा छनोट गर्न आवश्यक छ। यसका लागि नेपाललाई १६.२ ओभर भित्र लक्ष्य पूरा गर्नुपर्नेछ, जसले गर्दा नेट रनरेटमा यूएईलाई पछाडि पार्न सक्नेछ। यूएईले यसअघि नेपाललाई हराएको थियो र यस समय ५ खेलमा ५ जितसहित अंकतालिकाको शीर्ष स्थानमा छ। नेपाल चार जित र १ हारसहित दोस्रो स्थानमा छ।
नेपालको लक्ष्य अब मात्र ८४ रन पुरा गर्नु र नेट रनरेटमा अग्रता हासिल गर्दै समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुनु हो।