२८ कात्तिक, काठमाडौं
निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शीको रूपमा आफूलाई प्रस्तुत गर्दै अन्तर्वार्ता दिएका नवराज अर्यालले गरेका दाबीहरू भ्रम फैलाउन लक्षित भएको प्रहरीको निष्कर्ष छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले अर्यालले अन्तर्वार्तामा उल्लेख गरेका विवरणहरू घटनास्थल र वास्तविक प्रमाणहरूसँग मेल नखाएको जानकारी दिएका छन्।
अर्यालले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पन्तमाथि बलात्कार हुँदै गरेको देखेको दाबी गरेका थिए। उनले त्यसबेला खानेपानीमन्त्री विना मगरको गाडी चलाउने गरेको र कञ्चनपुर गएका बेला घटनालाई देखेको बताएका थिए। अर्यालले आफू माथि पटक-पटक आक्रमण भएको दाबी पनि गरेका थिए।
तर, एसपी बोगटीका अनुसार अनुसन्धानबाट अर्यालको दाबी गलत भएको पुष्टि भएको छ। “उनी त्यतिबेला कञ्चनपुरको पुनरवासमा थिए, जहाँबाट घटनास्थल लगभग ४० किलोमिटर टाढा पर्छ,” बोगटीले भने, “मन्त्रीलाई छाडेर डेढ घन्टासम्म अन्यत्र जान सम्भव देखिएन।”
प्रहरीका अनुसार अर्यालले घटनास्थल र त्यहाँका व्यक्तिहरूबारे जानकारी भएको दाबी गरे पनि उनी पहिलो पटक कञ्चनपुर गएका थिए, र त्यहाँका स्थानहरू चिन्न असम्भव थियो। अर्यालको बयानले घटनास्थलसम्म पुग्ने बाटो र दूरीमा समेत भ्रम सिर्जना गरेको प्रहरीले बताएको छ।
अनुसन्धानमा सहयोगका लागि प्रहरीले उनकी श्रीमतीलाई पनि सोधपुछको लागि बोलाएको छ। अर्यालले नक्कली लाइसेन्सको कारण जागिरबाट निस्किएको र मानसिक रूपमा असन्तुलित भएको बयान प्रहरीले लिएको छ।
प्रहरीले अहिले धमलासँग पनि सोधपुछ गर्दै अर्यालले कसैको उक्साहटमा यस्तो भ्रम फैलाउने प्रयास गरेको हो कि भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।