“‘कार्साङ’ चलचित्रमा जितु नेपालको नयाँ क्यारेक्टर लुक्स सार्वजनिक, प्रेम कथासँग जोडिएको अनुमान”

काठमाडौं – बहुप्रतीक्षित नेपाली चलचित्र ‘कार्साङ’को प्रमुख कलाकार जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। निर्माण पक्षले आज जितु नेपालको यस चलचित्रमा रहेको भूमिका झल्काउने नयाँ तस्बिर सार्वजनिक गरेको हो। चलचित्रको छायांकनका क्रममा अन्य कलाकारसँग पोस्ट गरिएको तस्बिर भन्दा फरक लुक्समा देखिएका जितुले यस भूमिकाका लागि विशेष मेहनत गरेको देखिन्छ।

सार्वजनिक गरिएको तस्बिरमा जितु नेपालले कालो टोपी, चेक शर्ट, स्टकोट, कालो पाइन्ट, र गमबुट लगाएका छन्। उनको हातमा कचौरो छ, जसमा जाँड भएको अनुमान गर्न सकिन्छ। पृष्ठभूमिमा देखिएका पहाड, गाउँका घरहरू र कुहिरोले उनी कुनै लेकाली गाउँका स्थानीय बासिन्दा हुन् भन्ने झल्काउँछ। पोस्टरमा लेखिएको “मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा” भन्ने लाइनले उनको पात्रको प्रेम जीवनमा कुनै प्रसङ्ग रहेको संकेत गर्छ।

‘कार्साङ’ चलचित्रले यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स पनि सार्वजनिक गरिसकेको छ। यम शेर्पाको लेखन र निर्देशनमा बनेको यस चलचित्रले शेर्पा समुदायको संस्कृति र जीवनशैलीलाई केन्द्रमा राखेको छ। चलचित्रमा दयाहाङ राईसँगै डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

‘कार्साङ’ चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने निर्माता पनि उनी स्वयं हुन्। चलचित्रको सह-निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा र लाइन प्रोड्युसरमा वीरेन्द्र शाही रहेका छन्। अन्तर्राष्ट्रिय वितरकको जिम्मेवारी अघिकार हुल्या इभेन्टसका सुमन पराजुली र सोमलाल थोकरले लिएका छन् भने नेपालभर वितरण आरआर फिल्म्सले गर्नेछ।

‘कार्साङ’ यही पुस २६ गते प्रदर्शनमा आउने तयारीमा छ। शेर्पा समुदायको परम्परा र संस्कृतिको गहिरो झलक दिने यो चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

समन्धित समाचार