बाढीपहिरोले क्षतिग्रस्त याङवरकको सडक नबन्दा १८ महिना दुख झेल्दै स्थानीय

sadak aajakura

पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूमा बाढीपहिरोले पुर्‍याएको क्षति र गोरेटो बाटो मर्मत नहुँदा यहाँका बासिन्दाले १८ महिनादेखि कठिनाइ झेल्दै आएका छन्। यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्‍याउने बाटो समेत छैन।

मेवा खोलासहित मुरुङ्गा, देवीखोला, र लम्बाखोलामा बाढीले भौतिक संरचना क्षतिग्रस्त बनाइदिएको छ। यसका कारण याङवरक–१ का समरजुङ, मङ्गरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्‍याउन कठिनाइ भोग्नुपरेको छ।

च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडक बाढीले भत्काएपछि स्थानीयको पैदल यात्रा कठिन बनेको छ। सडक नहुँदा गोरेटो बाटो पनि अवरुद्ध बनेको छ र तीन सय घरपरिवार सडक पहुँचबाहिर रहेका छन्।

स्थानीय साना बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् भने कतिपय परिवार गाउँ छोडेर अन्यत्र सरेका छन्। विद्यालय जान असजिलो भएपछि बस्तीका थुप्रै बालबालिकाको पठनपाठनमा अवरोध पुगेको छ।

गत वर्ष नै मर्मतका लागि माग गरिए पनि प्रदेश र संघीय सरकारले समस्या समाधानका लागि ठोस कदम चालेका छैनन्। “सडक मर्मतका लागि प्राविधिक निरीक्षण भएको भए पनि बजेटको अभावमा काम अघि बढ्न सकेको छैन,” वडाध्यक्ष राजेन्द्र खालिङले बताए।

समस्या समाधानका लागि स्थानीयले सहयोगको अपेक्षा गरे पनि सरकारी निकायको प्रभावकारी उपस्थिति नदेखिएको स्थानीय राजेश राईले बताएका छन्।

समन्धित समाचार