आँधीखोला गाउँपालिकामा गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

ambulance aajakaura

स्याङ्जा, कार्तिक २८ – आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न थालेको छ। यस सेवाको उद्देश्य घरमा नै सुत्केरी हुने दरलाई घटाउँदै नवजात शिशु र आमाको स्वास्थ्यलाई सुरक्षित बनाउनु हो। यो सेवा पालिकाका बर्थिङ सेन्टर वा नजिकको अस्पतालसम्म गर्भवती महिलालाई पुर्‍याउन र सुत्केरी भएपश्चात् घरसम्म सुरक्षित ल्याउन उपलब्ध गराइएको हो।

गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार, पालिका भित्रका कुनै पनि टोलका गर्भवती महिलालाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म पुर्‍याउन र आवश्यक परेमा पालिका बाहिरका अस्पतालसम्म पनि एम्बुलेन्स सेवा उपलब्ध गराइन्छ। गाउँपालिकाले विशेष गरी स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने अवस्थाका लागि यो व्यवस्था गरेको हो, जसले गर्दा स्थानीय महिलाहरूले यो सेवाबाट राहत महसुस गरेका छन्।

आँधीखोला गाउँपालिकामा तीन वटा स्वास्थ्य संस्था रहेका छन्: वडा नं. ५ मा आँधीखोला आधारभूत अस्पताल, वडा नं. १ मा पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र, र वडा नं. २ मा चिलाउनेबास स्वास्थ्य चौकी।

अध्यक्ष पौडेलले अन्य अति विपन्न वर्गका बिरामीलाई पनि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने जानकारी दिएका छन्। यस सेवाको लागि अति विपन्न परिवारहरूले सम्बन्धित वडा कार्यालयबाट विपन्नताको सिफारिस ल्याउनुपर्नेछ। यसबाहेक, गाउँपालिकाले आमा सुरक्षा र प्रजनन स्वास्थ्य सेवामा पनि विशेष जोड दिएको छ।

स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरूका लागि प्रत्येक महिनाको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे सेवा, तथा पोषणका लागि अण्डा र क्याल्सियम चक्की वितरण गरिँदै आएको छ।

समन्धित समाचार