२०८१ कार्तिक २७, मंगलवार
काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेको पक्षमा सडक आन्दोलन गरिरहेका नेताहरुविरुद्ध सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दा दायर गर्न अनुमति दिएको छ। सहकारी ठगी प्रकरणमा प्रहरीले हिरासतमा राखेको लामिछानेको पक्षमा सडक आन्दोलनको नेतृत्व गरेका नेताहरुले अदालतको अवहेलनामा परेको भन्दै अधिवक्ता अनुपम भट्टराईले मुद्दा दायर गरेका हुन्।
अधिवक्ता भट्टराईले अदालतलाई दबाब दिने उद्देश्यले बयानबाजी, आन्दोलन, र जनतालाई भड्काउने कार्यमार्फत न्यायिक प्रक्रियामा अवरोध गर्न खोजिएको आरोप लगाउँदै सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए। यसअघि सर्वोच्च प्रशासनले भट्टराईको निवेदन दरपीठ गरेको थियो, तर न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार उक्त निवेदन दर्ता गर्न आदेश दिएको छ।
अदालतको आदेश अनुसार, रास्वपाका उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, असिम शाह, गणेश पराजुली लगायतका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।
त्यस्तै, सांसदहरु चन्दा कार्की, निशा डागी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार, र हरि ढकालविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दायर गरिएको छ। रवि लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेपछि, उनका समर्थकहरुले निरन्तर सडक आन्दोलन गर्दै आएका छन्।
भट्टराईले दावी गरे अनुसार, नेताहरुले लामिछानेको मुद्दा अनुसन्धानकै क्रममा रहेको अवस्थामा जनतालाई भड्काउने गतिविधि गरेका छन्। यसले न्यायपालिकाको स्वतन्त्रतामा असर पुर्याउने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको हो।