२७ कात्तिक, काठमाडौं – गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) मंगलबार बिहान सानो भर्याङको कम्फर्ट हाउजिङस्थित आफन्तको घरमा लुकेर बसेका बेला पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी दीपक थापाका अनुसार, सर्वोच्च अदालतको फैसलाअनुसार उनलाई पक्राउ गर्न सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो। लगातार एक हप्तासम्मको रेकीपछि बिहान १०:४० बजे सीआईबीले उनलाई नियन्त्रणमा लियो।
प्रहरीलाई छल्न सिम कार्ड परिर्वतन
मनाङेले प्रहरीको नजर छल्न मोबाइल लोकेशन परिवर्तन गरि सिम कार्ड लगातार परिवर्तन गरिरहेका थिए। एक अनुसन्धान अधिकृतका अनुसार, मनाङेले एकै दिनमा ४ वटा सिम कार्ड परिर्वतन गरेका थिए। उनले नयाँ सिममा पुरानो मोबाइल सेट प्रयोग गरी लोकेशन परिवर्तन गरेर प्रहरीलाई अन्यत्रै दिशामा पठाउन खोजेका थिए। बुढानीलकण्ठ, नयाँबजार, बानियाँटार लगायतका स्थानमा लोकेशन देखाएर हाउजिङमा लुकिरहेका थिए।
मनाङेको मुद्दाको पृष्ठभूमि
२०६१ वैशाख ३१ गते, दीपक मनाङेको समूहले काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार प्रहार गरेको थियो। जिल्ला अदालत, काठमाडौंले कुटपिटको ठहर गर्दै २ वर्षको सजाय सुनाएको थियो, जसमा पुनरावेदन अदालतले ज्यान मार्ने उद्योगको ठहर गर्दै ५ वर्ष जेल सजाय कायम गरेको थियो।
मनाङे गण्डकी प्रदेशबाट सांसद निर्वाचित भएका थिए र २०७४ सालमा स्वतन्त्र सांसदको रूपमा चुनाव जितेर पुन: मन्त्री पनि बनेका थिए। सर्वोच्च अदालतले २० कात्तिकमा उनको ५ वर्ष कैद सजाय सदर गरेपछि प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो।
मनाङेलाई अहिले डिल्लीबजार कारागार चलान गरिएको छ, जहाँ उनले अझै २ वर्ष ४ महिना कैद काट्नुपर्ने छ।