२५ कात्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले रवि लामिछाने पार्टी सभापति पदमा कायम रहने स्पष्ट घोषणा गरेका छन्। उनले आइतबार पोखरामा रविलाई छुटाउन आयोजित विरोध प्रदर्शनका क्रममा रास्वपाको नेतृत्वमा अर्को सभापतिको सम्भावना नै नरहेको बताएका हुन्।
अर्यालले भने, “म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो। कार्यवाहक सभापति को पाउँछ, त्यो गौण कुरा हो।” उनले रवि लामिछाने हिरासतमा वा जेलमा रहे पनि सभापति पदमा कायम रहने विश्वास व्यक्त गरे।
उनले थप भने, “जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्सीमै बसेको संसारमा धेरै उदाहरण छन्।” उनले रास्वपामा कार्यवाहक सभापति को पाउने भन्ने चर्चामा चलिरहेको बखत स्पष्ट सन्देश दिएका हुन्।
रविलाई छुटाउन आज अदालतमा चौथो पटक पेश गरिँदा पोखरामा रास्वपाले महेन्द्रपुलदेखि जिरोसम्म विरोध प्रदर्शन गरेको छ।