२५ कात्तिक, काठमाडौं
अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा खराब प्रदर्शन गर्दै २-१ ले पराजय भोगेको छ। आइतबार सम्पन्न तेस्रो खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै श्रृंखला आफ्नो पक्षमा पारेको हो।
अस्ट्रेलियाले दिएको १४१ रनको झिनो लक्ष्य पाकिस्तानले २६ ओभर ५ बलमै केवल २ विकेटको क्षतिमा पूरा गर्यो। पाकिस्तानका ओपनर सैम अयुबले सर्वाधिक ४२ रनको योगदान गरे भने अर्का ओपनर अबदुल्लाह शफिकले ३७ रन बनाए। कप्तान मोहम्मद रिजवानले ३० रन र बाबर आजमले २८ रनमा अविजित रहँदै टिमलाई विजयी बनाएका हुन्। अस्ट्रेलियाका लागि लान्स मोरिसले दुवै विकेट हात पारे।
पहिलो इनिङमा अस्ट्रेलियाको कमजोर प्रदर्शन
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाको प्रदर्शन अत्यन्तै कमजोर रह्यो। ३१.५ ओभरमै अलआउट हुँदै टोलीले जम्मा १४० रन मात्र बनाएको थियो। अस्ट्रेलियाका लागि शन एबटले सर्वाधिक ३० रन बनाएका थिए भने ओपनर म्याथिउ शर्टले २२ रन जोडे। एडम जाम्पाले १३ रनमा र स्पेन्सर जोनसोनले १२ रनमा आफ्नो इनिङ समाप्त गरे।
पाकिस्तानी बलरहरूको उत्कृष्ट प्रदर्शन
पाकिस्तानका लागि शाहीन अफ्रिदीले ३२ रन खर्चेर ३ विकेट लिए भने नसीम साहले ९ ओभरमा ५४ रन खर्चेर ३ विकेट हात पारे। हारिस राउफले २ विकेट र मोहमद हसनैनले १ विकेट लिएर अस्ट्रेलियाको ब्याटिङ लाइनअपलाई धराशायी बनाए।
पहिलो खेलमा अस्ट्रेलियाले २ विकेटले पाकिस्तानलाई पराजित गरेको भए पनि दोस्रो खेलमा पाकिस्तानले ९ विकेटले सहजै जित निकालेको थियो। यी दुई टोलीबीच अब तीन खेलको टी-२० श्रृंखला पनि खेलिनेछ, जसमा दर्शकले थप रोमाञ्चक खेलको अपेक्षा गरेका छन्।