राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि अन्तर्गत जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन आज अजरबैजानको बाकु सहरतर्फ प्रस्थान गर्दैछन्।
उक्त सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन लाग्नुभएको हो। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु जान लागेका राष्ट्रपति पौडेल कात्तिक २७ र २८ गते आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालको तर्फबाट जलवायु सम्बन्धी आफ्ना एजेण्डाहरु अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने उद्देश्यले कात्तिक २८ गते राष्ट्रपति पौडेलकै नेतृत्वमा विशेष उच्चस्तरीय सत्रको आयोजना गरिनेछ। सम्मेलनको क्रममा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ शीर्षकमा नेपालले सहभागिता जनाउनेछ। यस सत्रमा नेपालको पर्वतीय तथा अन्य भूभागमा बढ्दो जलवायु परिवर्तनका प्रभावहरू र त्यसका कारण सिर्जित बाढीपहिरो लगायतका घटनाहरूलाई प्राथमिकतामा राखी विश्व समुदायको ध्यानाकर्षण गराउने योजना छ। मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, र काठमाडौँ उपत्यकामा हालै देखिएका असामान्य मौसमी घटनाहरुका कारण भएको क्षतिबारे पनि जानकारी गराइनेछ।
नेपालले जलवायु महासन्धिका पक्ष राष्ट्रका रूपमा सन् २०५० सम्म जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। कोप-२९ सम्मेलन कात्तिक २६ बाट सुरु भई मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा सहभागी भइसकेपछि राष्ट्रपति पौडेल यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम छ।