राष्ट्रिय विभूति फाल्गुनन्दको १४०औं जन्म जयन्ती मनाइँदै

today news

पाँचथर – नेपालका १६औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १४०औं जन्म जयन्ती आज विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। विशेषगरी कोशी प्रदेशका पाँचथर, इलाम, ताप्लेजुङ लगायतका जिल्लाहरूमा फाल्गुनन्दको जन्म जयन्ती भव्यताका साथ मनाइँदै आएको छ।

फाल्गुनन्दको जन्म विक्रम संवत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा भएको थियो। किरात लिम्बू समुदायका लागि एक महान समाज सुधारकको रूपमा परिचित फाल्गुनन्दले सामाजिक सुधार र सत्य धर्मको अभियानको थालनी गरेका थिए। १९८८ साल वैशाख २४ गते पाँचथरको सिलौटीमा १० लिम्बूवान र १७ थुमका अग्रजहरूलाई भेला पारेर उनले “सत्य धर्म मुचुल्का” घोषणा गर्दै विभिन्न सामाजिक सुधारका बुँदाहरू अघि सारेका थिए।

सत्य धर्म मुचुल्काका मुख्य बुँदाहरूमा:

  1. छोरीहरूलाई बराबर शिक्षा र अंशको हक सुनिश्चित गर्नु,
  2. सुनौली रुपौली तथा दाइजो प्रथा अन्त्य गर्नु,
  3. छोरीहरू देवीको प्रतीक भएकाले बिहेका क्रममा रीत नभइ अन्य विकल्पहरू प्रयोग गर्नुपर्ने,
  4. दाइजो दिनुको सट्टा छोरीहरूलाई शिक्षित र स्वावलम्बी बनाउनु पर्ने।

फाल्गुनन्दले बाल्यकालमा आफ्ना पितासँगै गाई गोठमा काम गरेका थिए। जीवनको अन्तिम समयसम्म उनले धूमपान, मध्यपान, विलासिता, र अन्धविश्वासविरुद्ध अभियान चलाए। २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएर १३ वर्षसम्म नोकरी गरेका उनले फर्केपछि समाज सुधारको अभियानलाई आफ्नो जीवनको ध्येय बनाए। उनको निधन २००५ साल चैत २२ गते भएको थियो।

नेपाल सरकारले २०६६ साल मंसिर १६ गते उनलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको हो। फाल्गुनन्दको समाधिस्थल पाँचथरको फाल्गुनन्द-७ सिलौटीमा रहेको छ, जहाँ उनको स्मृतिमा विभिन्न श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना हुने गरेका छन्।

फाल्गुनन्दको योगदान
फाल्गुनन्द लिङ्देन किरात धर्मका अनुयायीहरूको मात्र नभई समाज सुधारकको रूपमा सम्पूर्ण नेपाली समाजका लागि प्रेरणाको स्रोत हुन्। उनका विचारहरू विशेषगरी सामाजिक समानता, लैङ्गिक समानता, अन्धविश्वासको अन्त्य, र स्वावलम्बी समाज निर्माणमा महत्त्वपूर्ण रहेका छन्।

आज, नेपालभर उनको स्मृतिमा आयोजित कार्यक्रमहरूमा उनलाई श्रद्धासुमन अर्पण गर्दै नेपाली समाजलाई उनीद्वारा प्रतिपादित सत्य धर्मको मार्गमा चल्न प्रेरणा दिइएको छ।

समन्धित समाचार